कारको ठक्करबाट ६ जनाको मृत्यु


काठमाडौंको भोटाहिटिस्थित ‘सव वे’ नजिक नीजि कारको ठक्करबाट ६ जना भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत विहारको कसवामहेतीका धर्मनाथ सिन्हा, बिहार सीतामढिका मदन गुप्ता, कृष्णा देवी र सञ्जय गुप्ता तथा मोतिहारीका वीना सिन्हा रहेका छन् । अन्दाजी १७/१८ वर्षे एक युवकको भने सनाखत हुन सकेको छैन । गम्भीर घाइते सीतामढिका दीपक गुप्ताको बीर अस्पतालमा प्रारम्भीक उपचारपछि काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । विहान पौने एक बजेतिर अनियन्त्रित अबस्थामा गुडीरहेको बा ४ च ८०३० नम्बरको कारले सडक पेटिमा हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

उनीहरु बीर अस्पतालमा उपचार गराई फर्किरहेका थिए । लामो समयदेखि काठमाडौंको बाङ्गेमुढामा बस्दै आएका उनीहरु कस्मेटिक सामानको व्यापारी हुन् । घटनापछि कार चालक काठमाडौं खिचापोखरीका विप्लवमान सिंह फरार रहेका प्रहरीले जनाएको छ । कार भने ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको बिरोधमा स्थानीयवासी र मृतकका आफन्त प्रदर्शनमा उत्रिएका छन् । अहिले वीर अस्पताल, भोटाहिटि, शहिद गेट, सुन्धारा, रत्नपार्क र जमल क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीले बाटोमा टायर बालेर सवारी आवागमनमा रोक लगाएका छन् । प्रदर्शनमा उत्रिएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment