एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपालको लगातार तेस्रो जीत


मलेसियामा जारी एसीसी महिला ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो विजय यात्रा जारी राखेको छ । लगातार तेस्रो जीत हात पार्दै नेपालले कतारलाई आठ वीकेटले हराएको छ । जीत सँगै नेपालको सेमीफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । ४४ रनको झीनो लक्ष पछ्याएको नेपालले ९ दशमलव १ ओभरमा मात्र दुई वीकेट गुमाएर जीत दर्ता गरेको हो । नेपालको जीतमा नीरा राजोपाध्यायले १८, माया रावतले ९ र नेरी थापाले अविजित ६ रनको योगदान दिइन् । यसअघि किन्नरा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ् गरेको कतार १७ दशमलव २ ओभरमा मात्र ४३ रनमा समेटियो । कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सोनु खड्का र रेखा रावलले ३/३ तथा रीतु कनौजिया र रुविना क्षेत्रीले १/१ विकेट लिए । खड्का प्लेयर अफ द म्याच भइन् । कतारका दुई ब्याट्स वुमन रन आउट भएका थिए । लगातार तेस्रो हार व्यहोरेको कतार प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको आफ्नो चौथो खेलमा नेपालले मङ्गलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

0 comments:

Post a Comment