पारसलाई अपहरण गर्ने माओवादी योजना


तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरवार हत्याकाण्डबारे बयान लिने- यो योजना थियो माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता लिएको बेला । सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ २०६० मा भङ्ग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेरि सुरु गरेको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर दरवार हत्याकाण्डबारे बयान लिने र तत्कालीन प्रधानसेनापति प्याराजङ्ग थापाको ‘सफाया’ गर्ने योजना बनाएको थियो ।
त्यही योजनाको पूर्वअभ्यासका क्रममा मारिए बरिष्ठ सैनिक अधिकारी किरण बस्नेत । तर, त्यहीबेला ‘स्पेसल टास्क फोर्स’ का एक सदस्य पक्राउ परेपछि माओवादी योजना सेनाले थाहा पायो । त्यसैले पारसको अपहरण पनि भएन, तत्कालीन प्रधानसेनापतिमाथिको ‘कारबाही’ पनि भएन ।
तत्कालीन प्रधानसेनापति थापामाथि उनको सरकारी निवास शशीभवन झम्सीखेलदेखि प्रधान कार्यालय भद्रकालीसम्म जाँदा वा फर्कंदा पुलचोकस्थित मन्त्री निवास आसपासको क्षेत्रमा कारबाही गर्ने योजना बनेको थियो । तर, माओवादीको उपत्यका ‘स्पेसल टास्क फोर्स’ (एसटिएफ)ले सेनापतिमाथि कारबम आक्रमण गर्नेसम्मको योजना बनाएको थियो । ‘तर तयारीमा रहेको कार ग्यारेजमा समातियो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज कुमार दाहाल भन्छन् ।
दाहालका अनुसार माओवादीले पारसको अपहरण र सैनिक अधिकारीमाथि कमान्डो कारबाही गर्न ५० जनाको ‘भ्याली स्पेसल टास्क फोर्स’ बनाएको थियो, जसका कमान्डर थिए निश्चल नकर्मी । टास्क फोर्सका ‘मोबाइल’ छापामार खटिन्थे पारसको निगरानी गर्न । यीमध्ये केही गुप्तचरीमा थिए, कोही योजना कार्यान्वयन गर्न ।
‘पारसलाई उनी जाने होटल वा डिस्कोबाट अपहरण गर्ने योजना थियो,’ टास्कफोर्सका एक सदस्यले भने । माओवादी कार्यकर्ता व्यापारीको भेषमा दरबारमार्ग र ठमेलका होटेलहरुमा बस्थे । यसरी बस्दा पारसको दैनिकी जान्न सकिने उनीहरुको विश्वास थियो । टास्क फोर्सले महिनौंसम्म दरबारमार्ग र ठमेलका केही होटेलमा कोठा बुकिङ गरेर पारसको पिछा गरेको थियो । ‘पारसले खाने ठाउँमा हाम्रो टोली पनि पुग्थ्यो, नजिकै बसेर उनको चियो गर्‍थ्यो,’ माओवादीका तत्कालीन उपत्यका इन्चार्ज दाहाल भन्छन्, ‘हामी उनको निकै नजिक पुगेका थियौं । आवश्यकताअनुसार जतिवेला पनि अपहरण गर्नसक्ने अवस्था बनिसकेको थियो ।’
योजना कार्यान्वयनका लागि उपत्यकामा क्रियाशील माओवादी कार्यकर्ता पनि परिचालित थिए । त्यसबेला माओवादीको काठमाडौंमा पवनमान श्रेष्ठ, ललितपुरमा कृष्ण केसी र भक्तपुरमा दिलीप प्रजापति पार्टीको इञ्चार्ज थिए । त्यतिबेला उपत्यकासमेत हेर्ने मध्यकमान्डको इन्चार्ज थिए रामबहादुर थापा ‘बादल’ । त्यस्तै उपत्यकाब्युरो इन्चार्ज थिए दाहाल र उपत्यकासहितको आसपासको क्षेत्र हेर्ने जिम्मा पाएका थिए- कुलप्रसाद केसी ‘सोनाम’ले ।
पारसलाई समात्ने र आधार इलाका (रोल्पा) पुर्‍याउने योजना थियो माओवादीको । ‘उनलाई कुनै पनि हालतमा जिउँदै राख्ने भन्ने थियो,’ तत्कालीन ललितपुर इन्चार्ज कृष्ण केसीले भन्छन्, ‘उनलाई आधार इलाका पुर्‍याउने टिम पनि बनिसकेको थियो,’आज प्रकाशित नयाँ पत्रिका दैनिकले छापेको छ ।
अपहरण योजनामा संलग्न भक्तपुरका सेक्रेटरी बिके श्रेष्ठ, सहसेक्रेटरी रञ्जित, ललितपुरका सेक्रेटरी हीराबहादुर रोकासहित टास्क फोर्सका सदस्यहरु सुचेन्द्र श्रेष्ठ, बुद्धि तामाङ, भीम गिरीलगायत वेपत्ता पारिए । ललितपुरका तत्कालीन इन्चार्ज कृष्ण केसी भने २७ महिनाको वेपत्तापछि रिहा भए । त्यतिबेला पक्राउ गरी भैरबनाथ गणमा राखिएका माओवादी कार्यकर्ताहरुको अझैपनि अत्तोपत्तो छैन ।

0 comments:

Post a Comment